काठमाडौं । गायिका एलिना चौहानले आफ्नाे व्यक्तिगत जीवन र चरित्रमाथि भइरहेका टिप्पणीहरूविरुद्ध कडा रूपमा प्रतिक्रिया दिँदै विगतका तीतामीठा अनुभवहरू सार्वजनिक गर्न बाध्य भएको बताएकी छन्।
उनको यो भनाइ पूर्वपति बिष्णु सापकोटाले सामाजिक सञ्जालमा लेखेको स्टाटसपछि आएको हो। त्यसपछि एलिनाले पनि सामाजिक सञ्जालमा भावनात्मक स्टाटस लेख्दै एक तस्बिर सार्वजनिक गरेकी छन्, जहाँ उनको अनुहारमा चोटपटक देखिन्छ।
तस्बिरसँगै एलिनाले अष्ट्रेलियामा वैवाहिक सम्बन्धका क्रममा आफूले शारीरिक हिंसा सहनुपरेको दाबीसमेत गरेकी छन्। उनले लेखेकी छन्, “हामीबीचको कुरा आपसी सहमतिमा त्यही दिन टुंगिएको थियो। तर समाजको दवाव, सामाजिक सञ्जालको दुरुपयोग र सतही मूल्यांकनका कारण त्यो समाप्त भइसकेको विषयलाई पुनः उठाएर मेरो जीवनमा अन्याय गरिएको छ। म कानुनी प्रक्रियामा जान बाध्य भएँ। आफ्नो चरित्रको रक्षा गर्न विगत खोल्नुपर्ने अवस्था आयो।”
एलिनाले बदला लिने भावना पनि नरहेको स्पष्ट पार्दै भनिन्, “मेरो लडाइँ कुनै एक व्यक्तिसँग होइन, महिलालाई सधैं दोषी देख्ने सोच र समाजमा गढिएको पूर्वाग्रही दृष्टिकोणसँग हो। अब म चुप लाग्दिन।”
उनको भनाइमा भावुकता मात्र होइन, स्पष्ट अडान पनि झल्किएको छ। उनले लेखेकी छन्, “अब यो केवल मेरो व्यक्तिगत न्यायको मुद्दा होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक माध्यम प्रयोग गरेर न्यायका लागि अघि बढ्नेछु। सत्य मसँग छ, र म एक्लै भए पनि यो लडाइँ लड्नेछु।”
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया