काठमाडौं । कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा निर्माण गरिएको साइबर ब्युरो चाँडै सञ्चालनमा आउने भएको छ। भवन निर्माणको काम सम्पन्न भइसकेको र अहिले उपकरण जडानको तयारी भइरहेको प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले जानकारी दिएका छन्।

शुक्रबार संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी थापाले अहिलेको सुरक्षाको प्रमुख चुनौती प्रविधिको दुरुपयोग रहेको बताए।

advertisement

उनले भने, “चोरी, ठगी, बैंकिङ ह्याकिङजस्ता अपराधहरू आजकल प्रविधिको माध्यमबाट भइरहेका छन्। यस्ता साइबर अपराध नियन्त्रणका लागि प्रहरीले आफूलाई पनि प्रविधिमैत्री बनाउनु अपरिहार्य छ।”

प्रविधियुक्त अपराध नियन्त्रणका लागि विभिन्न अन्तर्राष्ट्रिय सहयोग लिइरहेको उल्लेख गर्दै उनले इन्टरपोलको सहयोगलाई विशेष रूपमा सराहना गरे।

आईजीपी थापाले प्रहरी संगठनभित्र अपराध अनुसन्धानमा संलग्न जनशक्तिलाई प्रविधि सञ्चालन र विश्लेषणमा दक्ष बनाउने तयारी भइरहेको बताए। उनका अनुसार, कोरिया सरकारको एक अर्ब रुपैयाँ बराबरको सहयोगमा निर्माण भएको साइबर ब्युरोले प्रविधिमा आधारित अपराध अनुसन्धानमा प्रहरीलाई थप सशक्त बनाउनेछ।

साइबर अपराध बढ्दै गएका सन्दर्भमा उक्त ब्युरोबाट आवश्यक पूर्वाधार, जनशक्ति तालिम र प्रविधि मार्फत अपराध अनुसन्धान तथा नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com