काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी नीतिविपरीत सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा अभिव्यक्ति दिन नेता तथा कार्यकर्तामाथि प्रतिबन्ध लगाएको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अनुशासन र एकतामा आँच आउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने गरी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा लिखित वा मौखिक रूपमा अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरिन्छ।”
हालै पार्टीभित्र बढ्दो असन्तुष्टि र विवादबीच यस्तो निर्देशन आएको हो। केही नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गर्दै वक्तव्यसमेत जारी गरेका थिए। पार्टीको अनुशासन कारबाहीको विरोधमा आवाज उठिरहेका बेला राप्रपाले सार्वजनिक रूपमा नबोल्न दबाब दिएको देखिन्छ।
यसैबीच, राप्रपाको अनुशासन समितिले पनि नेता-कार्यकर्तालाई पार्टी सिद्धान्तविपरीत अभिव्यक्ति नदिन स्पष्ट निर्देशन दिएको छ।
पार्टीभित्रको विवाद पछिल्लो समय झनै चर्किएको छ। अध्यक्ष लिङ्देनले शुक्रबार मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेका थिए। गिरीले लिङ्देनविरुद्ध सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि उनलाई पार्टी नेतृत्वबाट हटाइएको हो।
यस्ता निर्णयसँगै राप्रपाभित्र आन्तरिक विवाद गहिरिँदै गएको संकेत देखिएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया