काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीका नेता कार्यकर्ताहरूले आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको बताएका छन् ।

शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको संवादका क्रममा सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै सभापतिको स्वभाविक दाबेदार रहने बताएका हुन् ।

advertisement

आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक प्रतिस्पर्धा गरिसकेको, प्रधानमन्त्री र सभापति बाहेक सबै पदमा काम गरिसकेको, नेता कार्यकर्ताले पनि सभापति नै बन्न भनिरहेको लगायतका विषय अन्तर्वार्ताका क्रममा उनले उजागर गरेका छन् ।

‘नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ,’ सिंहले भनेका छन्, ‘पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला ? तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ ।’

सिंहले भनेका छन्, ‘जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ ।’
उनले आफू अहिले यो विषयमा पार्टीका साथीहरूसँग छलफलमा रहेको पनि बताएका छन् । साथै, पाएको जिम्मेवारी इमानदार भएर पूरा गर्ने संकल्प उनले व्यक्त गरेका छन् ।

‘अहिले पार्टीका साथीहरूसँग छलफलमा छु । प्राप्त जिम्मेवारीलाई सधैँ इमानदारीपूर्वक निर्वाह गरेको छु,’ सिंहले भनेका छन्, ‘जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईंलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ ।’

अन्तर्वार्ताकै क्रममा सिंहले आफू राजनीतिमा लाग्दा कुनै दिन सांसद मन्त्री नै भइन्छ भनेर नलागेको जिकिर गरेका छन् ।

जनतालाई अधिकारसम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएको उनले बताएका छन् ।

‘हामीले राजनीतिमा लाग्दा कुनै दिन सांसद, मन्त्री हौँला भनेर लागेका होइनौँ । दु:खकष्ट भोग्न मात्र होइन, ज्यानैसमेत पनि जान सक्छ भन्ने बुझेर अप्ठ्यारो अवस्थामा राजनीतिमा लागेका हौं,’ सिंहले भनेका छन्, ‘जनतालाई अधिकारसम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएका हौँ ।’

आफूहरूले राजनीतिमा सक्रिय हुँदा अवस्था असहज रहेको, धरपकड र गिरफ्तारी हुने गरेको उनले सुनाए ।

‘ती दिनहरू सजिला थिएनन् । राजाले सत्ता लिएपछि त अवस्था असहज बन्यो । जब जब प्रजातन्त्रमाथि प्रहार भएको छ जनताका अधिकार खोसिएका छन् त्यतिबेला सधैँ चुनौतीपूर्ण मोड आए पनि हामीले त्यसलाई पार गर्न सफल भएका छौँ । राजनीतिमा चुनौती हरक्षण आइरहन्छन्,’ सिंहले भनेका छन्

  • रासस

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com