काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो तथा स्थायी कमिटीको संयुक्त बैठकमा पार्टीको आन्तरिक संरचना र नेतृत्व सम्बन्धी विषयमा तीव्र बहस चलिरहेको छ। पार्टी नेताहरूबीच विशेषतः उमेर सीमा र अध्यक्षको कार्यकालबारे गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा ७० वर्षे उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरूले फरक-फरक धारणा राखिरहेका छन्। यसैगरी पार्टी अध्यक्षको कार्यकाल दुई कार्यकालमा सीमित गर्ने कि नगर्ने भन्ने विषय पनि बहसको केन्द्रमा रहेको छ।
बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक पुनरागमनसम्बन्धी चर्चा पनि उठेको गौतमले बताएका छन्। यद्यपि उक्त विषय आधिकारिक रुपमा पार्टी एजेन्डा नभए पनि नेताहरूले यसमा धारणा राख्न थालेका छन्।
पार्टी संगठन सुदृढीकरणतर्फ अग्रसर हुँदै बैठकमा जिल्ला समितिसँग समन्वय, प्रदेश र स्थानीय कमिटीलाई कार्यकारी अधिकार सम्पन्न बनाउनेबारे पनि छलफल भइरहेको छ। गौतमका अनुसार विधान संशोधनसहित पार्टीका नीतिगत विषयहरूमा नेताहरूले सुझाव प्रस्तुत गरिरहेका छन्।
बैठकमा हालसम्म ३२ जना नेताहरूले धारणा राखिसकेको र अझै ४० जति नेताहरूले बोल्न बाँकी रहेको जानकारी दिँदै उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सकाउने लक्ष्यसहित निर्देशन (रुलिङ) दिएको पनि बताए।
यसबारे निष्कर्ष आउन बाँकी छ, तर नेतृत्व चयन प्रक्रिया र पार्टीको भविष्य रणनीतिसम्बन्धी विमर्श निर्णायक मोडतर्फ उन्मुख देखिन्छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया