काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाउने प्रयास तत्काल रोक्न आग्रह गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा बोल्दै उनले पार्टीमा देखिएको केही गतिविधिबाट नेतृत्व र विधिप्रति अनास्था बढ्ने खतरा देखिएको उल्लेख गरे।

advertisement

“विद्या भण्डारीज्यू राष्ट्रपतिको जस्तो गरिमामय पदमा रहनुभएकी व्यक्ति हुनुहुन्छ। उहाँ पार्टीको सक्रिय भूमिकामा फर्किँदा त्यो पद र मर्यादासँग ठोक्किने सम्भावना हुन्छ,” बस्नेतले भने, “यसले लोकतान्त्रिक आचरण र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन।”

उनले भण्डारीको पार्टी सदस्यता सम्बन्धी विषय गम्भीर प्रकृतिको भएकाले व्यक्तिगत लहडमा होइन, केन्द्रीय कमिटीको स्पष्ट निर्णयबाट मात्र टुंगो लगाइनुपर्ने बताए। “पूर्वराष्ट्रपतिको हैसियतमा सदस्यता नवीकरण आवश्यक छ कि छैन, यसको स्पष्ट मापदण्ड बनाउन जरुरी छ,” उनले भने।

बस्नेतले एमालेको आगामी नेतृत्वबारे बोल्दै अहिलेका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरे। “अहिलेसम्मको अनुभव, योगदान र परिस्थिति हेर्दा अर्को कार्यकाल पनि अध्यक्ष ओलीकै नेतृत्व आवश्यक देखिन्छ,” उनले भने।

उनले थपे, “महाधिवेशनले कार्यकालको सीमा हटाइसकेको छ। त्यसैले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षको उम्मेदवार बन्ने बाटो खुलेको छ। तर, कुनै पनि नेतामाथि आरोप–प्रत्यारोप नगरौं, छलकपटको राजनीति बन्द गरौं। योग्यताको आधारमा नेतृत्व चयन गरौं।”

सचिवालयबाट प्रस्तावित विधान संशोधनबारे बोल्दै बस्नेतले पोलिटब्युरोले त्यसलाई आवश्यक परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गर्नुपर्ने बताए। “अब पार्टीको आन्तरिक सुदृढीकरण र वैचारिक स्पष्टताको समय हो, नेताहरूमाझ द्वन्द्व होइन,” उनले जोड दिए।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com