काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको पछिल्लो राजनीतिक सक्रियता चर्चाको विषय बनेको छ। शनिबारको बैठकमा एमाले नेता महेश बस्नेतले कोइरालाको भूमिका र उनी संलग्न सम्भावित सत्ता समीकरणबारे ध्यानाकर्षण गराएका हुन्।
बस्नेतले बैठकमा उठाएका विचारहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भनेका छन्, “प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर नयाँ सत्ता समीकरणको खोजीमा लागेको भनिरहेका छन्। यो कुरा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नै उल्लेख गरेका छन्।”
उनले शेखर कोइरालाको चीन भ्रमणपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएका भेटघाटलाई वाम एकताको नाममा एमालेलाई कमजोर बनाउने चालको रुपमा चित्रण गरे। “कम्युनिस्टविरोधी तत्त्व फेरि सल्बलिन थालेका छन्,” बस्नेतले भने।
पूर्व राष्ट्रपति भण्डारीप्रति संकेत गर्दै बस्नेतले यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई पार्टीभित्र प्रभाव जमाउन नदिनुपर्नेमा जोड दिए। “अन्तिम निर्णय हाम्रो पार्टीको संगठनभित्रैबाट हुन्छ,” उनले स्पष्ट पारे।
पछिल्लो केही दिनयता कांग्रेस नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व राष्ट्रपति भण्डारीसँग भेट गरेका छन्। ती भेटघाटहरूलाई लिएर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कोइरालाको नेतृत्वमा वैकल्पिक सत्ता निर्माणको प्रयास भइरहेको भन्ने धारणा सार्वजनिक गर्दै आएका छन्। यसले सत्ता समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया