काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको आन्तरिक असन्तोष र षड्यन्त्रप्रति कडा प्रतिक्रिया जनाएका छन्। झापाको मेचीनगरमा आयोजित पार्टीको पाँचौँ नगर अधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले नेतृत्वविरुद्ध असहमत हुनेहरूलाई महाधिवेशनसम्म पर्खन वा वैकल्पिक बाटो रोज्न स्पष्ट सन्देश दिए।

“राजेन्द्र लिङ्देन मन नपरे पनि विचार मिल्दो रहेछ भने महाधिवेशन कुर्नुस्,” लिङ्देनले भने, “तर विचार नै नमिल्ने हो भने बाटो तताउनुस्। षड्यन्त्र गरेर पार्टी कमजोर बनाउने प्रयास अस्वीकार्य छ।”

advertisement

उनको यो भनाइ केही दिनअघि उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरि, महामन्त्री डा. धवलशमसेर राणा र कुन्ती शाहीद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिको सन्दर्भमा आएको हो। उक्त विज्ञप्तिमा अध्यक्ष लिङ्देनमाथि पार्टीलाई अपूरणीय क्षति पुर्‍याएको आरोप लगाइएको थियो।

लिङ्देनले एमाले नेतृत्वको सरकारमाथि समेत तीव्र आलोचना गरे। उनले सरकारमा “कसले कति कमाउने?” भन्ने होडबाजी चलेको आरोप लगाए। हालै सार्वजनिक भएको ‘भिजिट भिसा’ प्रकरणलाई सन्दर्भ दिँदै उनले सरकार जनतालाई विदेश पठाएर कमाउने, शरणार्थी बनाएर बेच्ने, महँगी बढाएर खाने प्रवृत्तिमा लागेको टिप्पणी गरे।

गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भनिएको मानव तस्करी र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपतर्फ संकेत गर्दै लिङ्देनले देश नै संकटमा धकेलिएको जिकिर गरे। “सरकारको नीति जनतालाई बेचेर खाने बनिरहेको छ,” उनले भने।

भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा माग्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरिसकेकी छन्। रास्वपा र राप्रपा दुवैले संसद बैठक बहिस्कार गर्दै सरकारको आलोचना गरेका छन्।

“सरकारले सामान्य समिति बनाएर हाम्रो माग उपेक्षा गर्‍यो,” लिङ्देनले भने, “तर राप्रपा भनेको त्यो पार्टी हो, जसले अख्तियारमा गएर भ्रष्टाचारविरुद्ध आवाज उठाएको छ।”

उनले भ्रष्टाचारका मुद्दामा अन्य दलहरूको मौनता र डरलाई समेत कटाक्ष गरे। “राप्रपाबाहेक अरू पार्टी फाइल खोल्ने कुरा आउँदा काँप्छन्,” उनले भने, “हामी भने भ्रष्टाचारविरुद्ध लड्न तयार छौं।”

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com