काठमाडौं । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कुनै स्थानमा अति भारी वर्षा भएको छ । वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ ।

advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टायता कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्षा मापन भएको छ ।

वर्षाका कारण आज बिहान साढे ५ बजे इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

गत २४ घण्टामा इलामको माईपोखरी केन्द्रमा १८२।२ मिलिमिटर वर्षामापन भएको छ । इलामका इलाम चियाबगान, कन्याम चियाबगान, जितपुर, हिमाली गाउँमा पनि भारी वर्षा भएको छ ।

यसैगरी धनकुटाका त्रिवेणीमा १९५।६ र मझुवाघाटमा १७३ मिलिमिटर वर्षा भएको छ । धनकुटा बजार, पाख्रीबास, मुलघाट, सुनसरीको धरान बजार, तरहरामा पनि भारी वर्षा भएको छ ।

मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ । खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२।६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै एसएमएस पठाएको छ ।

लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि राम्रै खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।

यसैगरी तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि राम्रै खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com