काठमाडौं । नेपाली दूतावास अबुधाबीले शनिबारदेखि ‘दूतावासस्तरीय श्रम वैधानिकीकरण सेवा’ औपचारिक रूपमा सुरु गरेको छ। विदाको दिन सेवा प्रवाह गर्दै नेपाली श्रमिकलाई थप सहजता गर्ने उद्देश्यले यो सेवा प्रारम्भ गरेको दुतावासले जनाएको छ ।

सेवाको पहिलो दिन तीन जना पुरुष र दुई जना महिला सेवा लिन दूतावास पुगेका थिए। उनीहरूलाई श्रम काउन्सिलर दीपेन्द्र पौडेल, श्रम सहचारी पंकज लाभ कर्ण तथा उपनियोग प्रमुख रञ्जिता दाहाल लगायतले आवश्यक सहजीकरण गरेका थिए। सेवा लिनेहरूलाई मुस्कान मात्र होइन, मिठाइ सहित स्वागत गरिएको थियो।

advertisement

श्रम वैधानिकीकरण सेवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले करिब पाँच महिना अघि दुबईमा एक कार्यक्रम मार्फत उद्घाटन गरेका थिए। यद्यपि प्राविधिक तयारी नहुँदा सेवा सुरु गर्न केही ढिलो भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार, २०२४ सेप्टेम्बर २४ सम्म जुनसुकै माध्यमबाट यूएई आएका र भिसा लागिसकेका तर एकपटक पनि श्रम स्वीकृति नलिएका नेपालीहरूले यो सेवा लिन सक्नेछन्।

सेवा लिन इच्छुकले सामाजिक सुरक्षा कोष तथा बीमा शुल्क आफैंले तिरी, आवश्यक फारम भरेर बायोमेट्रिकका लागि दूतावासमा उपस्थित हुनुपर्नेछ।

हाललाई यो सेवा प्रत्येक महिनाको पहिलो शनिबार र तेस्रो शनिबार प्रदान गरिने दूतावासले जनाएको छ । दुबईमा कन्सुलेट मार्फत सेवा सुरु गरेपछि भने अन्य दिनमा समेत  खुल्ला रहनेछ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com