जनकपुरधाम । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। कटहरिया नगरपालिका–५ निवासी करिब ३० वर्षीय प्रजापति शनिबार राति ९ बजे आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटनापछि परिवारका सदस्यहरूले उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी हुँदै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याए। तर, उपचारका क्रममा राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए।
प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए। प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार, उनी केही दिनयता पारिवारिक समस्यामा तनावग्रस्त थिए। साथै, जेठ महिनाको अन्त्यतिर समाचार प्रकाशनको सिलसिलामा कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत प्राप्त भएको विवरण सार्वजनिक भएको छ।
पारिवारिक तनाव र पेशागत दबाबका कारण उनी मानसिक तनावमा रहेको अनुमान प्रहरीको छ। सोही कारणले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आँकलन गरिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया