काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम कमेडि च्याम्पियन का निर्माता तथा थ्री प्राेडक्सन प्रा.ली. का सञ्चालक बिशाल भण्डारीले सह-लगानीकर्ता एक व्यक्तिबाट आर्थिक ठगी, मानसिक यातना र कम्पनीमा अवरोध पुर्याइएको गम्भीर आरोप लगाएका छन्।
भण्डारीका अनुसार करिब १८ महिना अघि आफूलाई गैरआवासीय नेपाली दाबी गर्ने एक व्यक्ति कमेडि च्याम्पियन सिजन ३ का लागि ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सर्तमा कम्पनीमा ३० प्रतिशत शेयर लिएर प्रवेश गरेका थिए। प्रारम्भिक सहमतिअनुसार २४ महिनासम्म लगानी फिर्ता नलिने र १.५ करोड तत्काल उपलब्ध गराउने भनिएको थियो। बाँकी रकम नाफाको आधारमा थप गर्ने मौखिक समझदारी समेत गरिएको भण्डारीले बताए।
तर, कार्यक्रम सम्पन्न भएलगत्तै ती लगानीकर्ताले सम्झौता विपरीत चेकको प्रयोग गरी बिशालविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरेका थिए। भण्डारीका अनुसार ती व्यक्तिले यसरी दबाबमा पारेर आफूबाट २ करोड ४० लाख रुपैयाँ असुलेका छन्। “सबै कारोबार बैंकमार्फत भएको प्रमाणसहित मसँग छ,” उनले भने, “तर अहिले ती लगानीकर्ताले न पैसा फिर्ता गर्न चाहिरहेका छन्, न मिलापत्र गर्न, न त कम्पनी छोड्न।”
उक्त घटनासँग सम्बन्धित विषयमा हाल काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र प्रहरी परिसरमा विभिन्न मुद्दा दर्ता छन्। बिशालले ती लगानीकर्ताविरुद्ध ‘अपराधिक लाभ’ सम्बन्धी उजुरीसमेत दिएको बताएका छन्।
भण्डारीका अनुसार ती लगानीकर्ताको व्यवहारका कारण कम्पनीको नियमित कार्यसम्पादन प्रभावित बनेको छ। उनले भने, “कार्यक्रमको सिजन ३ सकिए पनि विजेता कलाकारलाई पुरस्कार वितरण गर्न सकिएको छैन। कर्मचारीको पारिश्रमिक समेत रोकिएको छ।” उनका अनुसार २ लाखबाट सुरु भएको कम्पनीमा अहिले १०० जनाभन्दा बढीको रोजगारी छ।
भण्डारीले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा जानकारी गराएर सहयोग पनि मागेको दाबी गरेका छन्। तर अहिलेसम्म कुनै प्रभावकारी पहल नभएको उनले बताए।
कम्पनी र सिर्जनात्मक टिममाथि भइरहेको दबाब, कानुनी प्रक्रिया झुण्ड्याउने प्रवृत्ति र लगानीकर्ताको अडानले कम्पनी धराशायी हुने खतरा रहेको भन्दै उनले न्यायिक निकाय र सरकारसँग हस्तक्षेपको माग गरेका छन्।
“हामी यहि देशमै बसेर सिर्जना गर्न चाहन्छौं, दर्शकलाई हसाउन चाहन्छौं,” भण्डारीले भने, “तर यस्तो अवस्थाले सिर्जनाकर्मीलाई हतोत्साहित बनाइरहेको छ।”

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया