पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले पुरिएका दम्पतीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परेका ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमती विश्वकर्माको शव उद्धार गरिएको हो। उनीहरू गएराति आएको भीषण पहिरोमा परी घरमै पुरिएका थिए।
गत रातिदेखि पर्वतसहित आसपासका क्षेत्रमा लगातार वर्षा जारी रहेको छ। वर्षाका कारण स्थानीय मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी नदीको जलसतहमा उल्लेख्य वृद्धि भएको छ।
यसै सन्दर्भमा स्थानीय प्रशासनले नदी तथा खोलाको किनारमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका कारण सावधानीपूर्वक बस्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया