काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता आवश्यक रहेको बताएका छन्।

बुढानीलकण्ठस्थित निवासमा नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा नेतृत्वको टोलीले निर्वाचनसम्बन्धी कानुन संशोधनका विषयमा बुझाएको २१ बुँदे ज्ञापनपत्र ग्रहण गर्दै सभापति देउवाले जनतासँग सिधा सम्पर्क हुने प्रत्यक्ष प्रणालीभित्र पनि समावेशी सहभागिता हुनुपर्नेमा जोड दिए।

advertisement

देउवाले भने, “प्रत्यक्ष निर्वाचन प्रणाली जनतासम्म पुग्ने मूल माध्यम हो। तर, त्यसभित्र पनि विविधता र समावेशीताको प्रतिनिधित्व आवश्यक छ। म यो विषयमा पार्टीभित्र र अन्य राजनीतिक दलहरूसँग छलफल गर्छु।”

मञ्चले बुझाएको ज्ञापनपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष प्रणालीमै महिलाको जनसंख्याका आधारमा कम्तीमा ५० प्रतिशत उम्मेदवार सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै, दलित महिलाको स्थानमा अन्य अल्पसंख्यक महिला उम्मेदवार राख्न सकिने प्रस्तावप्रति आपत्ति जनाउँदै उक्त प्रावधान खारेज गर्न माग गरिएको छ।

साथै, प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला र दलितका लागि चक्रीय प्रणालीमार्फत निर्वाचन क्षेत्र निर्धारण गरी, महिलाका लागि ५० प्रतिशत र दलितका लागि १३ प्रतिशत क्षेत्र आरक्षित गर्नुपर्ने मञ्चको स्पष्ट माग रहेको छ।

अध्यक्ष विश्वकर्माले लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका लागि समावेशी सहभागितालाई कानुनी रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com