काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको धेरैजसो माग समावेश भइसकेको बताउँदै अब थप अडान लिनु उचित नहुने टिप्पणी गरेकी छन्।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकमैत्री संशोधनहरू विधेयकमा पहिल्यै समावेश भइसकेको स्पष्ट पारिन्। उनले विधेयक शिक्षकहरूसँग भएको सहमतिअनुसार तयार पारिएको उल्लेख गर्दै अब पनि अनावश्यक दबाब सिर्जना गर्नु सार्थक नहुने धारणा राखिन्।
“शिक्षकहरूको अनुहार देखाएर अन्य समूहले आफ्ना स्वार्थका लागि विधेयकलाई राजनीतिकरण गर्न थालेका छन्,” सांसद श्रेष्ठले भनिन्, “शिक्षकहरू स्वयं पनि यसमा सचेत हुन जरुरी छ।”
श्रेष्ठले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन ध्यानपूर्वक अध्ययन गर्न शिक्षकहरूलाई आग्रह गरिन्।
उनले शिक्षामन्त्रीकै पहलमा विधेयक अघि बढाउन ढिलाइ भइरहेको जनाउँदै यस विषयमा सबै राजनीतिक दलहरूले पनि गम्भीरता देखाउनुपर्नेमा जोड दिइन्।
“विधेयक पारित नभएसम्म शिक्षाको सुधार सम्भव हुँदैन,” श्रेष्ठको भनाइ थियो, “अब विलम्ब गर्नु शिक्षा क्षेत्रमा अनावश्यक अन्योल सिर्जना गर्नु हो।”
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार












प्रतिक्रिया