काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठकमा आगामी विधान महाधिवेशनका लागि तयार पारिएको विधान मस्यौदामाथि छलफल भइरहेको छ।
बैठकको सुरुवातमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति, सरकारको एक वर्षको समीक्षा, तथा सचिवालय र पोलिटब्युरोका निर्णयबारे जानकारी गराएका छन्। महासचिव शंकर पोखरेलले सांगठनिक अवस्था प्रस्तुत गरेपछि विधान छलफलमा प्रवेश गरिएको हो।
विधान मस्यौदा समितिका संयोजक तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत गरेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, इच्छुक केन्द्रीय सदस्यलाई तीन मिनेटभित्र धारणा राख्ने समय दिइने कार्यसूची तय गरिएको छ।
एमालेमा करिब २३० जना केन्द्रीय सदस्य छन्, जसले प्रस्तावित विधानमा छलफल गर्नेछन्। साउन १, २ र ३ गते बसेका पार्टीका उच्चस्तरीय बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरिसकेको छ। अब केन्द्रीय कमिटीबाट पास भएपछि मस्यौदा मातहतका कमिटीमा सुझावका लागि पठाइनेछ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा संलग्नता विषयमा पनि छलफल हुने बताइएको छ। भण्डारीको भूमिकालाई लिएर पार्टीभित्र मतभेद देखिएको छ, जसबारे निर्णय यसै बैठकले गर्ने सम्भावना छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया