काठमाडौं । गाजाको उत्तर क्षेत्रमा संयुक्त राष्ट्रसंघ (यूएन)को राहत सहयोग लिन भीडमा उभिएका निहत्था नागरिकमाथि इजरायली सेनाले गोली चलाउँदा कम्तीमा ६७ जना प्यालेस्टिनीको ज्यान गएको छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार यस्तो जानकारी दिएको हो।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार इजरायलबाट २५ वटा राहत सामग्री बोकेको ट्रक प्रवेश गरेलगत्तै ठूलो संख्यामा भोकमरीले ग्रस्त नागरिकहरू सहायता लिन जम्मा भएका थिए। सोही क्रममा इजरायली सेनाले गोली प्रहार गरेको जनाएको छ।
इजरायली डिफेन्स फोर्स (IDF) ले घटनाबारे प्रतिक्रिया दिँदै ‘तत्कालको खतरा हटाउन’ गोली चलाएको दाबी गरे पनि मृतकको संख्या आफूहरूले अनुमान गरेजति नभएको जनाएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले गाजाभरि भोकमरीको अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै भनेको छ, “सयौं मानिस कुपोषणका कारण जीवन र मृत्युको सीमामा छन्।” पछिल्लो २४ घण्टामा मात्र भोकमरीकै कारण १८ जनाको ज्यान गएको मन्त्रालयको भनाइ छ।
उत्तर गाजामा गोली लागेर घाइते भएकाहरूलाई उपचारका लागि गाजा सिटीस्थित शिफा अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका मेडिकल निर्देशक डा. हसन अल-शाएरले बीबीसी अरबीसँग भने, “अस्पताल भरिभराउ छ, हामीसँग सबैलाई उपचार गर्न स्रोत छैन।”
अस्पतालबाहिर एक महिलाले भनेकी थिइन्, “सबै जना भोकले मर्न थालेका छन्।”
गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार आइतबारमात्र इजरायली आक्रमणमा ९३ जना मारिएका छन्। तीमध्ये ८० जना उत्तर गाजामा, ९ जना राफाहमा सहयोग वितरण केन्द्र नजिक र ४ जना खान युनिस क्षेत्रमा मारिएका हुन्।
विश्व खाद्य कार्यक्रम (WFP) ले उक्त आक्रमणप्रति कडा आपत्ति जनाउँदै भनेको छ, “नागरिकमाथिको हिंसा पूर्ण रूपमा अस्वीकार्य छ। पोषण अवस्था भयावह बन्दै गएको छ। झण्डै ९०,००० महिला र बालबालिकालाई तत्काल उपचार आवश्यक छ।”
डब्लुएफपीका अनुसार गाजामा प्रत्येक तीन जनामध्ये एक जनाले दिनौंसम्म खाना पाउन सकेका छैनन्। संयुक्त राष्ट्रसंघले गाजाका नागरिकको जीवन रक्षाका लागि आपतकालीन राहतको आव्हानसमेत गरेको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया