काठमाडाैं । जनकपुरधामकाे महोत्तरीका २८ वर्षीय विमलेश यादव (शनी) को हत्या अभियोगमा पक्राउ परेकी जुली झालाई प्रहरीले सार्वजनिक गरेको छ।
धनुषाको जनकपुरस्थित होटलमा भएको घटनासम्बन्धी अनुसन्धानपछि महोत्तरीको बलवा नगरपालिका–७ की २४ वर्षीया झालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार शनिबार राति जुलीसँग होटल ‘एसपी एन्ड गेष्टहाउस’मा गएका विमलेशमाथि छुरा प्रहार गरी पहिलो तलाबाट खसालिएको आरोप झामाथि लागेको छ।
सिसीटिभी फुटेजमा राति ९:५५ बजे उनीहरू होटलभित्र छिरेको देखिन्छ भने बिहान २:५७ बजे विमलेश रक्ताम्य र नग्न अवस्थामा खसेको र त्यसलगत्तै झा भागेको देखिएको छ।
घाइते अवस्थामै अस्पताल लगिएका विमलेशको आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो। घटनापछि फरार भएकी झालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया