काठमाडौं । घुस प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ सुरु गरेको छ।
अख्तियार स्रोतका अनुसार अनुसन्धान अधिकृतहरूको टोलीले गुप्तासँग अडियो काण्डसम्बन्धी प्रश्नोत्तर गर्न थालेको छ। उनीसँग घुस प्रकरणबारे जानकारी लिने मात्र होइन, अनुसन्धानको आगामी प्रक्रिया पनि अघि बढाउने तयारी गरिएको छ।
“उहाँलाई आयोगमा हाजिर हुन आग्रह गरिएको थियो, त्यसैअनुसार आज सोधपुछ भइरहेको छ,” अख्तियारका एक उच्च स्रोतले बताए, “सोधपुछसँगै उहाँको आवाजको नमुना पनि संकलन गर्ने तयारी छ।”
गुप्ताको नाम जोडिएको भनिएको अडियो सार्वजनिक भएपछि त्यसको वास्तविकता प्रमाणित गर्न आयोगले आवाज परीक्षण गर्ने योजना बनाएको हो। यसका लागि अनुसन्धानका क्रममा गुप्ताको आवाज रेकर्ड गरेर पहिल्यै बाहिरिएको अडियोसँग वैज्ञानिक तरिकाले तुलना गरिनेछ।
“आवाज रेकर्ड गर्नुअघि उहाँको लिखित स्वीकृति लिइनेछ,” स्रोतले भन्यो, “त्यसपछि अनुसन्धान क्रममा संकलन गरिएको आवाजलाई अडियो काण्डको रेकर्डसँग मिलाएर परीक्षण गरिन्छ।”
गत साता कास्कीका मालपोत प्रमुख अधिकृतको सरुवालाई लिएर गुप्तासँग एक विचौलिया भनिएको व्यक्तिबीचको संवाद सार्वजनिक भएको थियो। उक्त संवादमा घुस लेनदेनको आभास मिल्ने खालको सम्वाद सार्वजनिक भएपछि चौतर्फी दवाबका बीच गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया