काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै प्रकारको मतभेद नरहेको दाबी गरेका छन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि आपसी सम्बन्धमा कुनै खटपट नरहेको बताएका छन्।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिसँगको पछिल्लो भेटवार्ताको प्रसंग उल्लेख गर्दै आफूहरूमाझ स्पष्ट संवाद भएको जानकारी दिएका हुन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीले बैठकमा भनेका थिए, “पूर्वराष्ट्रपतिसँग कार्यालयमै भेट भयो, त्यो पनि उहाँकै आग्रहमा। भेटमा सबै विषयमा खुला छलफल भयो, हाम्रोबीच कुनै मतभेद छैन। उहाँको पार्टी सदस्यताको विषयमा विवाद गर्नु पर्ने अवस्था छैन, त्यसबारे निर्णय केन्द्रीय कमिटीले गर्नेछ।”
अध्यक्ष ओलीले पार्टी सदस्यहरूलाई बैठकमा खुला रूपमा आफ्ना धारणा राख्न आग्रह गरेका छन्। साथै, हालै पार्टीमा १ लाख ३९ हजार नयाँ सदस्य थपिएको उल्लेख गर्दै उनले २०८४ को निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउने जिम्मेवारी सबैले लिनुपर्ने धारणा राखे।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया