काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पहिलोपटक राजनीतिक प्रयोजनका लागि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छिन्। अध्यक्ष केपी शर्मा ओलीसँगको करिब दुई घण्टा लामो भेटमा दुवैबीचको सम्वाद तनावपूर्ण भएको स्रोतले जनाएको छ।
भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिने ओलीनिकट नेताप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीसँग स्पष्ट धारणा मागेकी थिइन्। जवाफमा ओलीले यो विषय ‘प्राविधिक’ मात्र भएको बताए।
भेटमा ओलीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा सक्रिय नहुन आग्रह गर्दै “सम्मान लिएर बस्दा नै ठीक हुन्छ” भनेका थिए। तर, भण्डारीले भने “म पहिले नै धेरै अगाडि बढिसकेकी छु” भन्दै सक्रिय राजनीतिमा प्रवेशको संकेत दिएकी थिइन्।
भण्डारीले अब च्यासल कार्यालयमा नियमित उपस्थित हुने बताएकी छन्, जसलाई ओलीले स्वागत गर्ने बताएका छन्। भेटपछिको सामूहिक फोटोले ‘एकताको सन्देश’ भन्दै केही नेताहरूले प्रचार गरे पनि भित्री संवादमा मतभेद प्रस्ट देखिएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया