काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको हालैको भेटवार्ताबारे पार्टी केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबारदेखि जारी बैठकमा ओलीले भण्डारीसँग आइतबार भएको भेटका विषयमा जानकारी गराएका हुन्। एक केन्द्रीय सदस्यका अनुसार, ओलीले भण्डारीलाई राष्ट्रपतिजस्तो उच्च पदमा पुगिसकेकी व्यक्तिले सक्रिय राजनीतिमा संलग्न हुँदा पर्ने सम्भावित प्रभावबारे स्मरण गराएका थिए।
ओलीले बैठकमा भने, “देशको अभिभावकको रूपमा सम्मानित जीवन बिताउनु नै उपयुक्त हुन्छ। सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश जान सक्दैन।” उनका अनुसार, भण्डारीले उक्त सुझावलाई गम्भीरतापूर्वक लिँदै “विचार गर्छु” भनेर जवाफ दिएकी छन्।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीले पूर्वराष्ट्रपतिसँग कुनै व्यक्तिगत मतभेद नरहेको पनि स्पष्ट पारेका छन्। “१० वर्ष पार्टी कार्यालय नआएको भन्दै भेटको प्रस्ताव भयो, त्यसअनुसार खुला रूपमा छलफल भएको हो,” गौतमले बैठकपछि जानकारी दिए।
भेटमा एमाले विभाजन गर्न खोज्ने तत्वहरू, सरकारको कामकाज, र पार्टीको आगामी विधान महाधिवेशनको तयारीसम्बन्धी विषयमा पनि कुराकानी भएको अध्यक्ष ओलीले बताएका छन्। उनले भण्डारीको पार्टी सदस्यता बारे कुनै विवाद नगरी निर्णय केन्द्रीय कमिटीले गर्ने बताए।
ओलीले महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र वैचारिक प्रस्तावहरू तयारी गर्न निर्देशनसमेत दिएका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया