काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकढिक्का रहेको स्पष्ट पार्दै, विभाजनको प्रयास गरिरहेका तत्वहरूबाट सतर्क रहन निर्देशन दिएका छन्।
सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र कुनै प्रकारको विग्रह नरहेको दाबी गरे।
उनले भने, “पार्टी एकताबद्ध छ, यही एकता कायम राखेर अघि बढ्नुपर्छ। पार्टीलाई तोडफोड गर्ने र विभाजन गर्ने तत्वहरू सक्रिय छन्, त्यसप्रति सचेत हुन जरुरी छ।”
अध्यक्ष ओलीले समग्र पार्टीलाई एकढिक्का बनाएर ती तत्वहरूको प्रयास विफल पार्न आह्वान समेत गरेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष ओलीले बैठकमा पार्टी एकता बलियो रहेको र त्यसलाई अझ सुदृढ गर्दै अघि बढ्ने स्पष्ट सन्देश दिएका हुन्।
यो सन्देश विशेष गरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा संभावित पुनरागमनको चर्चा चलिरहेका बेला आएको हो। भण्डारीको गतिविधिसँगै एमालेभित्र गुटबन्दी हुने आशंका बाहिरिएपछि अध्यक्ष ओलीले नेताकार्यकर्तालाई आश्वस्त तुल्याउँदै यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार पार्टीभित्र अहिले कुनै प्रकारको विवाद छैन र सबै नेता तथा कार्यकर्ताहरू साझा उद्देश्यका साथ अघि बढिरहेका छन्। अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ बनाउँदै विधान महाधिवेशनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया