जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–८ स्थित एक विद्यालयको कक्षा कोठामा एक शिक्षिका मृत फेला परेकी छन्। मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर हुन्, जो जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा बाल विकास कक्षामा अध्यापन गर्दै आएकी थिइन्।

साउन १ गते बिहान करिब ४ः४५ बजे विद्यालयको बाल विकास कक्षा कोठामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिक्षिका मगरले जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग ऋण लिएकी थिइन्। घटनास्थल नजिकै राखिएको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको छ।

सुसाइड नोट र अन्य प्रमाणका आधारमा यादवलाई साउन २ गते पक्राउ गरिएको र उनलाई आत्महत्या दुरुत्साहनको मुद्दामा कारबाही थालिएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।

प्रहरी अनुसन्धानमा मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएको, तर सो ऋण फिर्ता गरिसकेको भए पनि यादवले जबरजस्ती एउटा खाली चेकमा ४५ लाख रुपैयाँ उल्लेख गरी रकम असुल्न खोजेको खुलेको छ।

यादवले पटक–पटक मानसिक यातना दिएको, धाकधम्की र अपमानजनक व्यवहार गरेको प्रमाण पनि प्रहरीले संकलन गरेको छ। अनुसन्धानका क्रममा यादवको घरबाट विभिन्न व्यक्तिहरूका नाममा भएका ९ थान तमसुक (सक्कल र प्रतिलिपि), २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर तथा चेकहरू समेत बरामद गरिएको छ।

परिवारजनका अनुसार यादवले मृतक मगरलाई असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए। पैसा नतिरे चेक बाउन्स मुद्दा लगाएर जेल पठाइने धम्की दिएको पनि खुलाइएको छ। तर, मृतकले ऋण लिएको विषय परिवारका सबै सदस्यलाई जानकारी थिएन, केही सीमित सदस्यहरू मात्र यसबारे जानकार रहेको उनीहरूले बताएका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com