काठमाडौं  । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले “निरोगी नेपाल” अभियान अन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रम देशभरिका सबै स्थानीय तहसम्म विस्तार गरिएको बताएका छन्।

स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले स्वस्थ जीवनशैली, योग, ध्यान, र सकारात्मक सोच प्रवर्द्धन गर्ने कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा एकीकृत ढंगले कार्यान्वयन गरिएको जानकारी दिए।

advertisement

“यस कार्यक्रमले नागरिकलाई शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउनेछ,” मन्त्री पौडेलले भने, “नसर्ने रोगहरूको रोकथाममा पनि यसको दीर्घकालीन असर पर्नेछ।”

उनले आयुर्वेद, योग तथा परम्परागत चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न बुढानीलकण्ठमा स्थापना गरिएको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र २०८१ सालको चैत २२ गतेदेखि सेवा सञ्चालनमा आइसकेको जानकारी दिए। यो केन्द्र आयुर्वेद र योगमा आधारित विशिष्टीकृत पञ्चकर्म सेवा प्रदान गर्नेछ भने अध्ययन–अनुसन्धानको थलोका रूपमा समेत विकास गरिनेछ ।

स्वास्थ्य सेवा क्षेत्रमा प्रभावकारी सुधार गर्न मन्त्री पौडेलले तीनवटा महत्त्वपूर्ण कार्यविधिहरू जारी गरिएको बताए — ‘जलनको सघन उपचार सेवा विस्तार कार्यविधि, २०८१’ — जलन पीडितहरूको निःशुल्क उपचार सुनिश्चित गर्न, ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि, २०८१’ — क्यान्सर उपचारलाई प्रदेशस्तरसम्म पुर्‍याउन, ‘विद्युतीय चिकित्सा अभिलेख र दूर चिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ — डिजिटल स्वास्थ्य प्रणालीलाई संस्थागत गर्न ।

मन्त्री पौडेलले एचपिभी खोप अभियान, विद्यालय स्वास्थ्य कार्यक्रम, नसर्ने रोग पहिचान, बिरामी प्रेषण प्रणाली, सुर्तीजन्य पदार्थमा चेतावनीमूलक चित्र अनिवार्य गर्नेजस्ता दर्जनौँ कार्यक्रमहरूलाई निर्देशिकामार्फत कानुनी वैधता दिइएको उल्लेख गरे। साथै, आपत्कालीन अवस्थामा चिकित्सकीय समूहको तदारुक परिचालन प्रणालीसमेत विकसित गरिएको जानकारी दिए।

उनले नेतृत्व सम्हालेको एक वर्षमा जनस्वास्थ्य नीतिलाई आधुनिक र जनमुखी बनाउँदै आधारभूत स्वास्थ्य पहुँचलाई अझ व्यापक र प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण कार्य भएको दाबी गरे ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com