काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमाथि लगाइने ‘पुरानो र मूल्यहीन’ भएको आरोपलाई चिर्न जरुरी रहेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसको सबभन्दा ठूलो चुनौती नै नकारात्मक भाष्यविरुद्धको संघर्ष भएको बताए।
“कांग्रेस पुरानो भए पनि त्यो मूल्यहीन छैन। कांग्रेस पुरानो हुनु नै गौरवको विषय हो,” थापाले भने, “तर समाजमा कांग्रेस पुरानो भयो, त्यो काम लाग्दैन, त्यसले केही परिवर्तन गर्दैन भन्ने झूटो धारणा स्थापित गर्न खोजिँदै छ। कांग्रेसले त्यो भाष्य तोड्नैपर्छ।”
महामन्त्री थापाले नेपाली कांग्रेसले लोकतन्त्र, मानव अधिकार र सामाजिक परिवर्तनका हरेक चरणमा अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै वर्तमान समयका नयाँ परिवेश र विचारहरूलाई आत्मसात् गर्दै पार्टी अघि बढिरहेको बताए।
उनले कांग्रेसले विगतमा पुर्याएको योगदानमाथि गर्व गर्नुका साथै अबको आवश्यकताअनुसार सुधार र रूपान्तरणमार्फत नयाँ दिशा लिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।
थापाले पार्टीलाई जीवन्त, समकालीन र आगामी पुस्ताका लागि प्रासंगिक बनाउन वर्तमान नेतृत्वले गम्भीर प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया