काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुला समर्थन जनाएका छन्। सोमबार च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा उनीहरूले सार्वजनिक रूपमै ओली नेतृत्वको समर्थनमा धारणा राख्दै, सचिवालय र पोलिटब्युरोबाट पारित भएको विधानलाई केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने माग गरेका हुन्।

बैठकमा बोल्ने गण्डकी प्रदेशका नेताहरू — प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रीय सदस्यहरू राजीव पहारी, इन्द्रलाल सापकोटा, पदम गिरी, सूर्य पाठक, रामशरण बस्नेतलगायतले अध्यक्ष ओलीप्रति दृढ विश्वास व्यक्त गर्दै पार्टी एकता र अनुशासनको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए।

advertisement

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे पनि गण्डकीका नेताहरूको स्पष्ट मत रहेको छ। उनीहरूको धारणा थियो—भण्डारीको प्रत्यक्ष राजनीतिक प्रवेशले पार्टीलाई फाइदा होइन, उल्टो क्षति हुन सक्छ।

गण्डकी प्रदेशमै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता सुरु गरेपछि त्यहाँ ओली पक्ष र विपक्षबीच प्रतिस्पर्धा चर्किएको थियो। विशेषगरी प्रदेश अध्यक्षको निर्वाचनमा भण्डारीले नवराज शर्मालाई समर्थन गरेकी थिइन्। शर्मा निर्वाचित भएपछि उनलाई शपथ गराउन गएका ओलीले सार्वजनिकरूपमै भण्डारीको आलोचना गरेका थिए।

यद्यपि अहिलेको केन्द्रीय कमिटी बैठकमा गण्डकीका अधिकांश नेताहरू ओलीकै पक्षमा देखिएका छन्। उनीहरू ओली नेतृत्वमा पार्टी सुदृढ गर्न आवश्यक छ भन्ने मान्यताका साथ उभिएका छन्।

गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच दुई धार देखिन्छ। यद्यपि, पहिले ओली विरोधी मानिएका गुरुङ अहिले भने ओली पक्षमै नजिकिएका छन् भन्ने राजनीतिक विश्लेषण भइरहेको छ।

यसरी गण्डकी प्रदेशका नेताहरूको धारणा सार्वजनिक भएपछि एमालेभित्रको भण्डारी बहसले झनै रोचक मोड लिएको देखिन्छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com