काठमाडौं। साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि पुगेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अघिल्लो वर्षको पहिलो सोमबार २५ हजार भक्तजन आएकामा यस वर्ष ३५ हजार भक्तजनले बोलबम मेलामा सहभागीता जनाएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । उनका अनुसार देवघाटमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

advertisement

साउनमा त्रिशूली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको बरालले बताए । उनका अनुसार नदी किनारमा बिजुली बत्तीको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरीसहितको दुई वटा डुङ्गाको व्यवस्था गरिएको छ ।

त्यसैगरी, मेलाअघि प्रत्येक आइतबार र मेला पछि प्रत्येक मङ्गलबार वेणी सङ्गममा सरसफाइ गर्ने पनि बरालले बताए । मेलामा आउने भक्तजनको सुरक्षाका लागि साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जनशक्ति थप गरिएको छ ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा मनाइने बोलबम मेलामा देश विदेशबाट हजारौँ भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले बताए ।

 

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com