काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र त्यसले उत्पन्न गरेको बहसका बीच नेकपा एमालेका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई तत्काल स्पष्ट निर्णय लिन सुझाव दिएका छन्। उनीहरूका अनुसार यस विषयमा अलमल गरे पार्टीलाई दीर्घकालीन रूपमा क्षति पुग्न सक्छ।
सोमबारदेखि सुरु भएको एमालेको नवौं केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले स्पष्ट धारणा राख्दै विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको पदमा पार्टीले राजनीतिक निर्णयका आधारमा पठाएको उल्लेख गर्दै अहिले पनि त्यही दृष्टिकोणबाट निर्णय गर्नुपर्ने बताएका छन्।
बैठकको पहिलो दिन धारणा राख्ने ४९ जना सदस्यमध्ये करिब ९५ प्रतिशत अर्थात् ४६ जनाले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरता आवश्यक रहेको बताएका छन्। उनीहरूले भण्डारीले गणतान्त्रिक पदमा बसेपछि पुनः सक्रिय दलगत राजनीतिमा फर्कन नहुने विचार राखेका छन्।
केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार, “गणतन्त्रमा राष्ट्रपतिको पद केवल औपचारिकता होइन, यो संस्थागत गरिमा र राजनीतिक शिखरको प्रतीक हो। यस्तो पद सम्हालेको व्यक्तिले दलको सक्रिय राजनीतिमा फर्कनु लोकतान्त्रिक संस्कारविपरीत हो।”
दोस्रो दिन मंगलबार पनि बैठक जारी रहेको छ। बाँकी सदस्यहरूले धारणा राखेपछि आजै समापन गर्ने तयारी गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गौतमका अनुसार सोमबार गण्डकी, मधेस तथा सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
मंगलबारको कार्यसूची अनुसार विधान संशोधनसम्बन्धी प्रस्तावमा बाँकी सदस्यहरूले धारणा राख्ने छन्। सदस्यहरूलाई बोल्न अधिकतम तीन मिनेटको समय दिइएको छ। पार्टीको सचिवालय र पोलिटब्युरो सदस्यहरूलाई भने यसपटक धारणा राख्न समय दिइएको छैन, किनकि उनीहरूले आफ्ना कमिटीहरूमा पहिले नै विचार प्रस्तुत गरिसकेका छन्।
बैठकको पहिलो दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार भएको भेट, समसामयिक राजनीतिक परिस्थिति र सरकारले एक वर्षमा हासिल गरेका उपलब्धिबारे जानकारी गराएका थिए।
उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्दै पार्टीको सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको तथ्य प्रस्तुत गरेका छन्।
बैठकमा सहभागी अधिकांश सदस्यहरूले भण्डारी प्रकरणमा स्पष्ट निर्णय गर्दै समसामयिक प्रस्तावसहितको घोषणा पत्र सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। आजै उक्त प्रस्ताव पारित गरी बैठक समापन गरिने तयारी गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया