काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा (एमाले)माथि कांग्रेसको ‘कोर भ्यालु’ अर्थात् मूल मूल्य र मान्यतामाथि संगठित ढंगले आक्रमण गरिरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंको बसुन्धारामा आयोजित ४३औं बीपी स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषदसम्बन्धी विधेयकजस्ता विषयमा एमालेको भूमिका लोकतान्त्रिक मान्यताविरुद्ध रहेको बताए।

advertisement

कोइरालाले प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाले परिमार्जन गरेर फिर्ता पठाएको सन्दर्भमा कांग्रेस नेतृत्वको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाए।
“राष्ट्रिय सभाबाट परिमार्जन भएर आएको विधेयक कांग्रेसले दुई दिन रोक्यो, तर प्रमुख सचेतकले ह्विप जारी गरेपछि हामी बाध्य भयौं पास गर्न,” कोइरालाले भने, “यस्तो गम्भीर विषयमा ह्विप जारी गर्नु नै कांग्रेसको मूल्यमान्यतामाथि प्रहार हो।”

भूमिसम्बन्धी विधेयक समितिमा छलफल नगरी छिटोछरितो पारित गर्न खोजिएको भन्दै कोइरालाले एमाले सांसदहरू छलफलबाट डराइरहेको आरोप लगाए।
“भोलि–पर्सि नै विधेयक पारित गर्ने हतार कस्तो? समितिमा किन नलग्ने? एमाले किन डराइरहेको छ?” उनले प्रश्न गरे।

कोइरालाले सेवानिवृत्त कर्मचारीमाथि दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति भइसके पनि, एमाले सांसदहरूले त्यसलाई हटाउने संशोधन दर्ता गर्नु कांग्रेसको नीति र मान्यतामाथि प्रहार भएको बताए।
“राष्ट्रिय सभामा उल्टै कुलिङ पिरियड हटाउने संशोधन ल्याउनु भनेको कांग्रेसको आदर्शमाथि आक्रमण हो,” उनले भने।

सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै कोइरालाले निर्णय प्रक्रियामा निष्क्रियता देखिएको बताए।
“प्रधानमन्त्रीले जे भने पनि मान्नुपर्ने चुनाव प्रणाली होइन कांग्रेसको विचार हो,” उनले भने, “बीपी कोइराला भएको भए यस्तो स्वीकार गर्नु हुन्नथ्यो। हामी विचारमा कमजोर छैनौं, तर आचरणमा चुकिरहेका छौं।”

कोइरालाले भूमि मन्त्री बलराम अधिकारीको राजीनामाको माग गर्दै एमाले कास्कीले औपचारिक निर्णय गरिसकेको भए पनि कांग्रेसको नेतृत्व त्यसमा मौन बस्नु लाचारपन भएको टिप्पणी गरे।
“एमाले कास्कीले मन्त्रीको राजीनामा मागेको छ, तर कांग्रेस मौन छ। योभन्दा ठूलो लाचारी के हुन सक्छ?” उनले प्रश्न गरे।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com