काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच स्वदेशी उत्पादन, औद्योगीकरण र आयात प्रतिस्थापन विषयमा छलफल भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली र परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा पुगेको टोलीबीच देशको आर्थिक विकास, औद्योगिक नीति र स्वदेशी उत्पादन प्रवर्द्धनबारे कुराकानी भएको हो।
छलफलमा प्रधानमन्त्री ओलीले मुलुकलाई उत्पादनमुखी बनाउँदै औद्योगीकरणतर्फ लैजान जरुरी रहेको धारणा राखे। “सिर्फ आयात गरेर नाफा कमाउने भन्दा देशमै उत्पादन गरेर निर्यातमा लाग्नुपर्ने समय आएको छ,” प्रधानमन्त्री ओलीले भने।
उनले सरकारले कानुनी तथा नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न तयार रहेको उल्लेख गरे। ओलीले भान्साका सामानदेखि दैनिक प्रयोगमा आउने वस्तुसमेत स्वदेशी उत्पादन हुनुपर्ने आवश्यकता औंल्याउँदै स्वदेशी वस्तु उत्पादन र प्रयोगमार्फत मात्रै आयात प्रतिस्थापन सम्भव हुने बताए।
छलफलका क्रममा परिसंघका अध्यक्ष पाण्डेले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानमार्फत आयात प्रतिस्थापन गर्न परिसंघ प्रतिबद्ध रहेको जानकारी दिए।
उनले अगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको बताए। त्यसका लागि ८ प्रमुख क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको पनि उनले जानकारी गराए।
प्रधानमन्त्रीसँगको यो छलफलले सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउने विश्वास परिसंघले व्यक्त गरेको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया