काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग सस्तो मूल्यमा तेल खरिद गर्ने देशहरूलाई लक्षित गर्दै तीव्र चेतावनी दिएका छन्। उनले भारत, चीन र ब्राजिललाई स्पष्ट रुपमा इंगित गर्दै भनेका छन्, “रूसबाट तेल किन्ने कार्य युक्रेनविरुद्धको युद्धमा परोक्ष सहयोग गर्नु हो।”

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले कडा भाषा प्रयोग गर्दै भने, “राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक रूपमा सहयोग पुग्ने कुनै पनि गतिविधि तत्काल रोक्न चाहनुहुन्छ। यदि भारत, चीन र ब्राजिलले सस्तो तेल खरिद जारी राखे भने, हामी ती देशहरूको अर्थतन्त्रलाई तहसनहस पार्न पछि हट्दैनौं। यो रगतको पैसा हो!”

advertisement

ग्राहमले यी तीन देशहरू रूसको कुल तेल निर्यातको झण्डै ८० प्रतिशत हिस्सा खरिद गर्ने गरेको दाबीसमेत गरे। उनले थपे, “यी देशहरूले अब अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनमध्ये एउटाको छनोट गर्नुपर्छ। मलाई विश्वास छ, उनीहरूले अमेरिकालाई रोज्नेछन्।”

अमेरिकाको यस्तो चेतावनीको पृष्ठभूमिमा हालैका दिनमा नाटो महासचिव मार्क रुटको बयान पनि थपिएको छ। रुटले भारत, चीन र ब्राजिललाई रूससँगको व्यापार रोक्न आग्रह गर्दै चेतावनी दिएका थिए—यदि उनीहरूले व्यापार नरोक्ने हो भने एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाइनेछ।

यो धम्की डोनाल्ड ट्रम्पले पुटिनलाई दिएको ५० दिनभित्र युद्ध अन्त्य गर्नुपर्ने अल्टिमेटमको भोलिपल्ट आएको हो। ट्रम्पले रूस र उसका मुख्य व्यापारिक साझेदारहरूमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्मको ट्यारिफ लगाउने तयारी गरिरहेको जानकारी पनि सार्वजनिक भएको छ।

युक्रेन युद्ध सुरु भएपछि रूसले तेल सस्तोमा बिक्री गर्न थालेपछि भारत, चीन र ब्राजिलले ठूलो मात्रामा तेल आयात गर्दै आएका छन्। तर अमेरिकी चेतावनीले अब विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्ने आङ्कलन गरिएको छ।

यदि अमेरिकाले भनिएअनुसार ट्यारिफ लगायो भने, यी देशहरूलाई विकल्पका रूपमा मध्यपूर्व वा अफ्रिकाबाट महँगो दरमा तेल आयात गर्नुपर्ने हुन सक्छ, जसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा देखिनेछ।

यसैबीच, ब्रिक्स समूहका सदस्य राष्ट्रहरू (ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका) डलरको विकल्प खोज्ने प्रयासमा जुटिरहेका छन्। यही प्रयासलाई ट्रम्पले अमेरिकाको आर्थिक हितमाथिको चुनौतीका रूपमा लिएका छन्।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com