काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, विकास सहकार्य तथा सोमबार अर्थ मन्त्रालयमा भएका चार समझदारी कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै, बाढीले क्षति पु¥याएको रसुवागढी नाकाको पुनर्निर्माणमा चीनले देखाएको तत्परताका लागि धन्यवाद दिए। साथै, चीनसँगको सीमा नाकाको विस्तार र बेल्ट एण्ड रोड परियाहरुलाई अवरोधबिनै अघि बढाउनुपर्नेमा उनले जोड दिए।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लगायतको उपस्थिति थियो।
यसअघि सिड्का प्रतिनिधिमण्डलले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी चीनको सहयोगमा सञ्चालित र आगामी योजनाबारे छलफल गरेका थिए। सो अवसरमा चार परियोजनामा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया