काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तासाझेदार दल नेकपा (एमाले) माथि पार्टीको मूल सिद्धान्त र मूल्य–मान्यतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।
बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कुलिङ पिरियड हटाउने संशोधन प्रस्ताव लगायतका विषयमार्फत एमालेले कांग्रेसको ‘कोर भ्याल्युज’ नै कमजोर पार्न खोजेको दाबी गरे। “हामी सरकारमा छौं, उपाय छैन भन्ने ठिक हो, तर एमालेबाट भइरहेका आक्रमणमा चुप लागेर बस्नु कांग्रेसको नीति होइन,” कोइरालाले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको गठबन्धनको बाध्यता स्वीकार गरे पनि त्यसको नाममा कांग्रेसको आधारभूत मान्यता कुलिङ पिरियड जस्ता विषयमा सम्झौता गर्न नहुने स्पष्ट पारे। “सभापतिजीले टेक एण्ड पे भन्नुभएको थियो, अहिले फेरि त्यसैमा अडान लिनुपर्ने बेला आएको छ,” उनले जोड दिए।
कोइरालाले राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउने संशोधन दर्ता गर्नु कांग्रेसको मूल्यमा प्रत्यक्ष प्रहार भएको बताए। “हाम्रो पनि कमजोरी थियो, प्रस्ताव हेरेर नपठाउनु गल्ती हो। तर त्यसको सुधारको नाममा कोर भ्याल्यु नै मिच्ने काम स्वीकार्य हुँदैन,” उनले भने।
भूमिसम्बन्धी विधेयकमा एमालेले देखाएको हतारप्रति पनि उनले गम्भीर आपत्ति जनाए। “के कारणले समिति छलफल नगरी विधेयक पारित गर्न हतारिएको हो? यसबारे मन्त्रीहरूसँग जवाफ माग्नुपर्नेछ,” कोइरालाले स्पष्ट पारे।
संवैधानिक परिषदसम्बन्धी ऐन संशोधनमा देखिएको प्रक्रिया विरोधी कार्यले संविधानको मर्म नै मर्ने चेतावनी पनि उनले दिए। “प्रधानमन्त्री र एक सदस्य मात्रले निर्णय गर्नसक्ने व्यवस्था बनाइयो भने त्यो कुनै पनि प्रधानमन्त्रीका लागि खतरनाक हुनेछ,” उनले भने।
उनले सरकारमा रहेका केही मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै कांग्रेसले चुप लागेर बस्नु नहुने धारणा राखे।
यता, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलिङ पिरियड हटाउने एमालेको संशोधन फिर्ता नलिए गठबन्धनमै दरार आउने चेतावनी दिएका छन्। “यो विषयमा कांग्रेसको अडान स्पष्ट छ,” उनले भने।
कांग्रेस नेताहरूको यस्तो सार्वजनिक चेतावनीपछि सत्तारूढ गठबन्धनभित्र मतभेद चर्किँदै गएको संकेत देखिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया