काठमाडौं । सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सहकारी संस्थाबाट ठगिएका पीडितको बचत रकम फिर्ता गराउन माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।

सहकारीहरूमा फसेको बचत रकम फिर्ता गरिनु पर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै महासंघले मोटरसाइकल र्‍यालीसहितको आन्दोलन गरेको हो। प्रदर्शनको क्रममा महासंघले समस्याग्रस्त १६ वटा सहकारीहरूको सूची सहकारी नियमन प्राधिकरणमा बुझाएको जनाएको छ।

advertisement

अभियानका कोषाध्यक्ष देव श्रेष्ठले लामो समयदेखि सहकारी पीडितहरूको आवाज बुलन्द गरिँदै आए पनि राज्यले सुनवाइ नगरेको गुनासो गरे। उनले राज्यका नेतृत्वले आन्दोलनको गम्भीरता नबुझेको भन्दै अब माग गरेर होइन, खोसेर अधिकार लिनुपर्ने चेतावनीसमेत दिए।

उनले भने, “हामी ३० महिनादेखि पीडितका लागि सडकमा छौं। तर, राज्यले हाम्रो मागलाई अझै बेवास्ता गरिरहेको छ। अब हाम्रो शक्ति प्रदर्शनको समय आएको छ। हामीले आज १६ समस्याग्रस्त सहकारीको नाम प्राधिकरणमा बुझाएका छौं। यदि चाँडै सुधार भएन भने अब कर्जासहितको असुली अभियानमा जान्छौं।”

महासंघले समस्याग्रस्त सहकारीका सञ्चालकमाथि कारबाही गर्न र पीडितलाई यथाशीघ्र बचत फिर्ता गराउन सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ।

सहकारी प्रणालीमा पारदर्शिता ल्याउने र बचतकर्ताको पैसा सुरक्षित राख्ने उद्देश्यसहित सरकारले ललितपुरको पुल्चोकमा सहकारी नियमन प्राधिकरण स्थापना गरिसकेको छ। यद्यपि, पीडितहरूका अनुसार सरकारले अझै ठोस पहल गरेको छैन।

महासंघले समस्याग्रस्त सहकारीहरूको दुरुपयोग रोक्न तथा दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउन थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com