काठमाडौँ । राष्ट्रिय सभा सदस्य सुरेश कुमार आलेमगरले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको घोषणालाई व्यवहारमा लागू गर्न नसकेको आरोप लगाएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद आलेले “म भ्रष्टाचार गर्दिन, गर्न दिन्न” भन्ने प्रधानमन्त्री ओलीको भनाइ बोर्ड मात्रै बनेको टिप्पणी गर्दै, यस्तो साइनबोर्ड झिकेर फाल्न सुझाव दिए।
“अब त जताततै भ्रष्टाचार देखिन्छ,” उनले भने, “यस्ता बोर्डहरू झुण्ड्याएर मात्रै केही हुँदैन, अब कार्यान्वयन देखिनुपर्छ।”
उनले पोखराको लिचिबारीस्थित १३४ रोपनी सरकारी जग्गा हडप्न घुस लेनदेन गरिएको अडियो सार्वजनिक भएपनि पूर्वमन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा राखेकोप्रति आलोचना गरे। गुप्ताले आरोपपछि राजीनामा दिइसकेका छन्।
आलेमगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमेत सो प्रकरणमा जोडिएको आरोप लगाउँदै उनले पनि सार्वजनिक अडियो अस्वीकार गरेको उल्लेख गरे। “अर्का एक मन्त्री पनि पाइपलाइनमै छन्, जोगाउने तयारी त छैन?” भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न उठाए।
उनको भनाइमा, प्रधानमन्त्रीको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता नारामा मात्र सीमित भई कार्यान्वयनमा नदेखिएको हो।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया