काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका भ्रष्टाचारविरुद्धका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नहुँदा त्यसको अर्थहीन भएको टिप्पणी गरेका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद आलेमगरले “म भ्रष्टाचार गर्दिन, गराउँदिन, हेर्दिन” भन्ने प्रधानमन्त्री ओलीको नारा केवल कागजी मात्र भएको भन्दै त्यसलाई झुटो प्रचारको रूपमा लिएको जनाए। उनले कटाक्ष गर्दै भने, “भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ भन्ने बोर्डहरू अब झिकेर फाल्नुपर्छ, किनभने अहिले त राज्यका सबै तहमा भ्रष्टाचार छ्यापछ्याप्ती देखिन्छ।”
उनले हालै सार्वजनिक भएको घुससम्बन्धी अडियो प्रकरणलाई उदाहरण दिँदै प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी अडानमाथि प्रश्न उठाएका थिए। पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हडप्न सेटिङमा गरिएको भनिएको घुस लेनदेनको अडियो सार्वजनिक भइसकेपछि पनि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई मन्त्रिपरिषद् बैठकमा सहभागी गराइएको भन्दै आलोचना गरे।
“अडियो बाहिरिएपछि मात्रै गुप्ताले राजीनामा दिए, तर प्रधानमन्त्रीले त्यसअघि नै कारबाही गर्नुपर्थ्यो,” आलेमगरले भने।
उनले अर्को मन्त्रीमाथि पनि भ्रष्टाचारको गम्भीर आरोप रहेको दाबी गरे। “अहिले अर्का एकजना मन्त्री पाइपलाइनमा हुनुहुन्छ,” उनले भने, “उहाँलाई जोगाउने तयारी छ कि छैन, मलाई थाहा छैन।”
सार्वजनिक अडियो अनुसार, लिचिबारीको जग्गा प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमेतको संलग्नता रहेको आशंका गरिएको छ। तर, मन्त्री अधिकारीले उक्त अडियो आफ्नो नभएको बताउँदै आरोप अस्वीकार गरेका छन्।
सांसद आलेमगरले भ्रष्टाचारविरुद्धको लडाइँ नारामा सीमित नराखी कार्यान्वयनमा देखिनुपर्ने आवश्यकता औंल्याउँदै कडा निगरानी र जवाफदेहिताको माग गरे।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया