काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका पाँच वरिष्ठ नेताले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई नै प्राथमिकता दिन सुझाव दिएका छन् ।

मंगलबार बिहान देउवाको बुढानीलकण्ठ निवासमा पुगेका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतले २०७९ को निर्वाचनमा रूपन्देही–३ बाट उम्मेदवारी दिएका बालकृष्ण खाणलाई पुनः उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्। खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए।

advertisement

भेटमा सहभागी पूर्व उपसभापति श्रेष्ठका अनुसार, नेताहरूले कांग्रेसले यो क्षेत्रबाट जित्नुपर्ने भएकाले अघिल्लो उम्मेदवारलाई नै अगाडि सारेर रणनीति बनाउन आग्रह गरेका थिए।

‘२०७९ मा खाणलाई उम्मेदवार बनाइएको थियो, अहिले पनि उहाँलाई अघि सारेर कांग्रेसले यो सिट जित्नुपर्छ भन्ने हाम्रो धारणा सभापतिजीलाई राख्यौँ,’ श्रेष्ठले बताए, ‘पुरानै उम्मेदवार उठाएर होस् वा अन्य रणनीति होस्, पार्टीको जित सुनिश्चित गर्ने गरी अघि बढ्नुपर्ने सन्देश दिएका छौँ।’

जवाफमा सभापति देउवाले उक्त सुझाव गम्भीरतापूर्वक लिँदै पार्टीभित्र व्यापक सल्लाह गरेर निर्णय लिइने बताएका थिए।

२०७९ सालको निर्वाचनमा खाण राप्रपाका दीपक बोहोरासँग पराजित भएका थिए। बोहोराको निधनपछि रिक्त बनेको उक्त क्षेत्रमा यही कात्तिक १७ गते उपनिर्वाचन हुने तय भएको हो।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com