काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब पछाडि फर्किने कुनै संभावना नरहेको स्पष्ट पार्दै आफू सक्रिय भूमिकाबाट पछि हट्न नचाहेको बताएकी छन्।
राजधानीको भंगालामा केही राजनीतिक पत्रकारहरूसँगको कुराकानीमा उनले आफूले अघि बढिसकेको र अब ‘खुट्टा कमाउने’ अवस्थामै नरहेको प्रस्ट पारिन्। “म अघि बढिसकेको छु, अब रोकिन्न,” भण्डारीको भनाइ थियो।
उनले आफ्नो सक्रियता वा भूमिकालाई लिएर अनावश्यक भय फैलाइएको भन्दै यस्तो मानसिकता त्याग्न आग्रह गरिन्। “कसैले डर मान्नुपर्ने अवस्था छैन। तर, बरु मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्ने प्रयास भइरहेको छ, जुन बन्द हुनुपर्छ,” पूर्वराष्ट्रपतिले चेतावनी दिइन्।
भण्डारीले एमालेको राजनीतिमा पुनः संलग्न हुने विषयमा भएको निर्णय कुनै आकस्मिक नभई विचार र तयारीसहित लिएको निर्णय भएको संकेत दिँदै, आफूले पार्टीमा पुनरागमनका लागि लिएको कदमबारे लामो प्रक्रिया अनुभव गरिसकेको उल्लेख गरिन्।
उनको भनाइले एमाले राजनीतिमा पूर्वराष्ट्रपतिको भूमिकालाई लिएर नयाँ बहस थप चर्किने संकेत देखिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया