काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले देशका अधिकांश कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न भएको गम्भीर आरोप लगाएका छन्।

पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा स्कुल अफ मार्क्सिज्मद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शर्माले, स्व. मनमोहन अधिकारी बाहेकका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू भ्रष्टाचारमा लिप्त भएको दाबी गरे।

advertisement

“यो आरोप होइन, यथार्थ हो,” शर्माले स्पष्ट रूपमा भने, “यदि मुख्य नेतृत्व नै भ्रष्टाचार नगर्ने हो भने करिब ६० प्रतिशत भ्रष्टाचार स्वतः घट्छ। थप २० प्रतिशत राम्रो निगरानी र संयन्त्रले नियन्त्रण गर्न सक्छ। बाँकी २० प्रतिशत जनताको चेतनाले थाम्न सक्छ। तर अहिले त खुलेआम भ्रष्टाचार मौलाउँदै गएको छ। दिन दुई गुना, रात चौगुना बढिरहेको छ।”

शर्माले माओवादी पार्टीभित्रै नेताहरूको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका पनि खुलासा गरे। “मैले पार्टीमा आग्रह गरेँ– आफ्नै नेताहरूको सम्पत्ति स्वतन्त्र व्यक्तिबाट छानबिन गरौं। सुशासन भित्रबाटै दिनुपर्छ भनेपछि मात्र जनतामा विश्वास बढ्छ,” उनले भने।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको प्रशंसा गर्दै शर्माले उनी एक मात्र कम्युनिष्ट नेता भएको उल्लेख गरे जसले सत्ता प्रयोग असुलीका लागि गरेनन्। उनले भने, “मनमोहन अधिकारी नै इमानदार प्रधानमन्त्री थिए, बाँकी सबैले कुनै न कुनै रूपमा असुलीधन्दा गरे।”

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आलोचकका रूपमा चिनिने शर्माले आफ्नै पार्टी नेतृत्वलाई पनि सोही सन्दर्भमा कटाक्ष गरेका छन्। प्रचण्ड तीनपटक प्रधानमन्त्री बनेका छन्, जबकि मनमोहन अधिकारी २०५१ मा एमालेको अल्पमत सरकारको नेतृत्व गरेका थिए।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com