चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका आधारभूत सिद्धान्त र मूल्य–मान्यतासँग सम्झौता गर्नुपर्ने अवस्था आए सरकार छाड्न पनि पछि नपर्न नेताहरूलाई आग्रह गरेका छन्।
बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस चितवनद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले स्पष्ट शब्दमा भने, “हामी एमालेसँग मिलेर सरकारमा छौं भन्दै गर्दा हाम्रा न्यूनतम मूल्य–मान्यतामा सम्झौता गर्नुपर्ने स्थिति आयो भने ‘तिम्रो सरकार तिमीलाई मुवारक’ भन्दै हामीले आफ्नो बाटो रोज्नुपर्छ।”
उनले कांग्रेसका मन्त्रीहरू सधैं राजीनामा तयार राखेर नै बस्नुपर्ने धारणा पनि व्यक्त गरे। “गलत काम गर्नुपर्यो भने तुरुन्तै प्रधानमन्त्रीको टेबुलमा राजीनामा थन्क्याउने हिम्मत राख्नुपर्छ,” थापाले जोड दिए।
सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले भने, “सभापतिले पनि मूल्यमान्यतामाथि सम्झौता गर्नुपर्यो भने सरकार छाड्न तयार रहनुपर्छ। सिंगो पार्टीले यही आँट राख्नुपर्छ—अनावश्यक दबाब हामी स्वीकार्दैनौं।”
थापाले निजामती सेवा र भूमिसम्बन्धी विधेयकहरूमा कांग्रेस र एमालेबीचको मतभेदलाई संकेत गर्दै पार्टीले गलत सम्झौता नगर्ने अडानमा दृढ रहनुपर्ने बताए।
साथै, उनले आगामी चुनावका सोचले लोभी बन्नु नहुने भन्दै कांग्रेस कार्यकर्तालाई सत्यका पक्षमा दृढ रहने आह्वानसमेत गरे। “चुनावको हिसाबकिताब धेरै गर्नु लोभ हो, लोभीले ठूलो कुरा गर्न सक्दैन,” थापाले भने, “डराउनु हुँदैन, हरेक कांग्रेसजनसँग योजना र संकल्प छ। घरको फोहोर आफैं सफा गरौं।”
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया