चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा रहेकै भरमा कसैले अतिरिक्त सुविधा लिनु नपर्ने स्पष्ट पारेका छन्। उनले शक्तिशाली वा सत्तासीन भए पनि गलत कार्यलाई सही ठहरिन नहुने धारणा राखे।
चितवनमा आयोजित बीपी कोइराला स्मृति दिवसको कार्यक्रममा बोल्दै थापाले भने, “सत्ता, शक्ति वा पदमा बस्नाले गलत सही हुँदैन। गलत, जेसुकै होस्, गलतै हुन्छ। सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने कांग्रेसको दृष्टिकोण कहिल्यै बदलिनु हुँदैन।”
महामन्त्री थापाले सार्वजनिक पदमा बसेका व्यक्तिहरूले गरेका भ्रष्टाचार वा त्रुटिको जिम्मेवारी पार्टीले होइन, व्यक्तिले आफैंले लिनुपर्ने बताएका छन्। “यदि कसैले गल्ती गर्छ भने त्यसको बोझ उसैले बोक्नुपर्छ। पार्टी वा कार्यकर्ताले उसको दोषको भारी बोक्न सक्दैन,” उनले स्पष्ट गरे।
बीपी कोइरालाले सिकाएको मूल मन्त्र कानुनको शासन भएको देशमा सबै बराबर हुनुपर्ने भएको उनले स्मरण गराए। “व्यक्तिगत होस् वा पार्टी जीवन, यदि म गलत छु भने मलाई तपाईंले कांग्रेस भएको नाताले पनि न त संरक्षण गर्नुहुन्छ, न त वकालत,” उनले भने, “त्यस्ता अवस्थामा मलाई अतिरिक्त सुविधा दिनुपर्छ भन्ने सोच पनि कांग्रेससँग मिल्दैन।”
थापाले आगामी निर्वाचन (२०८४) काे चिन्ता गरेर लोभी बन्न नहुने भन्दै कार्यकर्तालाई सत्यका पक्षमा उभिन आग्रह गरे। “चुनावको डर हो भने ठूला कुरा गर्न सकिँदैन,” उनले भने, “हामीले आफ्ना कमजोरी स्वीकार गर्नुपर्छ, गल्तीहरू सुधार्नुपर्छ र घरभित्रको फोहोर आफैं सफा गर्न सक्नुपर्छ।”
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया