काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व कसैको चाहनाले समाप्त नहुने स्पष्ट पारेका छन्।
कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा बुधबार आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले समाजवादी आन्दोलनलाई अगाडि बढाउन पुष्पलालको सिद्धान्त र दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
“हामी समाजवाद प्राप्तिको यात्रामा पुष्पलालको प्रेरणा लिएर अघि बढिरहेका छौँ,” उनले भने, “पार्टीलाई मेट्ने प्रयास हुँदैमा अस्तित्व समाप्त हुँदैन। त्यसप्रति जनताले पनि जवाफ दिन्छन्।”
कार्यक्रममा अध्यक्ष नेपालले एमाले नेतृत्वको समयमा आफूले गणतन्त्रमा जाने निर्णय गरेको स्मरण गराउँदै त्यसवेला केहीले विरोध गरे पनि इतिहासले त्यो निर्णयलाई सही ठहर्याएको बताए।
उनले भने, “मदन भण्डारीले पनि समयको सन्देश बुझेका थिए। आज हामीले पनि यथार्थ चिन्ने र निराशा होइन, आशा बाँड्ने नेतृत्व गर्नुपर्छ।”
कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यपछि मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवादले राज्यका संरचनामा प्रभाव जमाएको टिप्पणी गरे।
यस्तै, नेता वामदेव गौतमले नेपालको कम्युनिष्ट आन्दोलनका उपलब्धिहरू पुष्पलालकै योगदानमा आधारित रहेको उल्लेख गर्दै पार्टी एकता र विचारमा प्रतिबद्ध रहनु आवश्यक रहेको बताए।
गौतमले आफूले एकीकृत समाजवादीसँग एकता गरेर कम्युनिष्ट आन्दोलनमा योगदान दिन चाहेको र पार्टी नेतृत्वले आफूलाई समयसापेक्ष जिम्मेवारी दिनुपर्ने आग्रह पनि गरे।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया