चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको निर्वाचनमा गठबन्धनको विकल्प नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीको महासमितिबाट नै गठबन्धन नगर्ने निर्णय पारित भइसकेको जानकारी दिँदै अब कांग्रेसले स्वतन्त्र रूपमै निर्वाचनमा होमिनुपर्ने बताए।
चितवनमा आयोजित ४३ औँ बिपी कोइराला स्मृति दिवसको अवसरमा “बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान” विषयक विचार गोष्ठीमा बोल्दै थापाले भने, “अब पन्ध्रौँ महाधिवेशनमा जो भए पनि, कांग्रेसका कार्यकर्ताले रुख चिन्हबाहेक अन्यत्र भोट हाल्नुपर्ने बाध्यता हुने छैन। गठबन्धनको लोभ र डरबाट बाहिर ननिस्के पार्टी कहिल्यै बलियो बन्दैन।”
उनका अनुसार गठबन्धन सत्ताको डर र लोभबाट प्रेरित भएको थियो, जुन प्रवृत्तिबाट कांग्रेस बाहिर ननिस्के अझ ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ। “सरकारमा नपुगिएला कि भन्ने डर र अर्काले सरकार बनाइदेला कि भन्ने आशंकाबाट भएको गठबन्धनले पार्टीलाई कमजोर बनायो,” उनले भने, “सिद्धान्तसँग सम्झौता नगर्ने अडान राख्न सकियो भने तत्काल लाभ नपाए पनि पार्टी दीर्घकालीन रूपमा सशक्त बन्छ।”
महामन्त्री थापाले सत्ता मोह त्याग्न र सैद्धान्तिक स्पष्टतासहित पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिए। “सत्ता छोड्नुपर्छ भन्ने डर र सत्ता प्राप्तिको मोहबाट हामी मुक्त हुनुपर्छ,” उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले समेत बिपी कोइरालाको विचारधारा अनुसरण गर्दै पार्टीको सुधार र रूपान्तरणमा जोड दिनुपर्ने धारणा राखे।
त्यसैगरी, युवा नेता प्रमोद हरि गुरागाईं, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक सङ्घ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठा, अधिवक्ता उद्धव लोहनी, प्राध्यापक प्रदीप वाग्ले, गोविन्द सिग्देल, कृष्णप्रसाद न्यौपाने र रमेश खनालले कांग्रेसभित्र आवश्यक रूपान्तरण र सिद्धान्तगत स्पष्टताको आवश्यकता औँल्याए।
कार्यक्रमको अध्यक्षता गर्दै कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पेसागत समूहबाट आएका सुझावहरू पार्टीको मार्गनिर्देशनका लागि उपयोगी हुने बताए।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया