काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख प्राथमिकता युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्किएकाको सीप, पुँजी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने रहेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सन् २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा गरिएको जानकारी गराउँदै रोजगारी सिर्जनामा केन्द्रित नीति अवलम्बन गरिएको बताए।

advertisement

उनका अनुसार कृषि, पर्यटन, उर्जा, उद्योग तथा पूर्वाधार निर्माणजस्ता विकासका प्रमुख क्षेत्रहरूमा सरकारी तथा निजी लगानी बढ्दै गएकाले त्यहाँ उल्लेख्य मात्रामा रोजगारीको अवसर सृजना हुने विश्वास गरिएको छ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनः संरचना गरी ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’का रूपमा अघि बढाउने र यसलाई थप सीपमूलक र रोजगारीमुखी बनाइने नीति सरकारले लिएको बताए।

उनले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका लागि कोशी र मधेश प्रदेशका २० पालिकामा पुनः एकीकरण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। साथै, युवापुस्तालाई लक्षित गरी स्टार्टअप तथा नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रम अघि बढाइएको उल्लेख गरे।

भ्रष्टाचारको सन्दर्भमा प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार न गर्ने र कसैलाई गर्न न दिने अठोटमा दृढ रहेको दोहोर्याए। “तथ्यका आधारमा आएका गम्भीर प्रकृतिका भ्रष्टाचार घटनामा कुनै सम्झौता हुँदैन,” उनले भने, “तर, केवल आरोपको भरमा कारबाही गर्न सकिँदैन।”

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com