काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार एकता, सहकार्य, प्रतिस्पर्धा र सहअस्तित्वका आधारमा सञ्चालन भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा आयोजित ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक सहमति र सहकार्यको मार्गलाई नै परिवर्तनको आधारका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।
उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई श्रद्धापूर्वक स्मरण गर्दै सहमति, मेलमिलाप र संयुक्त आन्दोलनको महत्व दोहोर्याए।
“पुष्पलाल र बीपीले देखेको तानाशाहीविरुद्धको संयुक्त संघर्षको भावना नै आजको लोकतान्त्रिक व्यवस्थाको जग हो,” प्रधानमन्त्री ओलीले भने, “तिनको सोच २०४६ सालको परिवर्तन, ०६३ को संसद पुनःस्थापना हुँदै आजसम्मको राजनीतिक यात्रामा सशक्त प्रेरणा बनेको छ।”
ओलीले पुष्पलाललाई तत्कालीन सत्ताले आफ्नै देशमा प्राण त्याग्न पनि नदिएको उल्लेख गर्दै त्यसले जनताको अधिकारप्रति राज्य कति क्रूर थियो भन्ने पुष्टि हुने बताए।
उनले २०१७ सालको दरबारिया ‘कु’ विरुद्ध पुष्पलालले उठाएको संयुक्त आन्दोलनको माग अन्ततः ०६३ सालमा संसद पुनःस्थापनासँगै सफल भएको स्मरण गर्दै उक्त आन्दोलनकै उपलब्धिले राजतन्त्रको अन्त्य र जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुख बनाएको उल्लेख गरे।
“वर्तमान सरकार पनि त्यही ऐतिहासिक आन्दोलनहरूबाट आएको चेतनामा आधारित छ । जहाँ सहमति, सहकार्य, प्रतिस्पर्धा र सहअस्तित्वलाई मुल आधार मानिन्छ,” उनले दोहोर्याए।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया