काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई नै रहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’* शीर्षक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिका लागि गरिएको संघर्ष, बलिदान र परिवर्तनप्रतिको सरोकार अझै जीवित रहेको बताए।
“बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन,” प्रचण्डले आन्दोलनसँगको आफ्नो भावनात्मक सम्बन्ध जोड्दै भने, “गणतन्त्रप्रति उठेका प्रश्नका कारण काठमाडौंमा ठूलो प्रदर्शन गर्नु हाम्रो प्रतिबद्धता र सरोकारको अभिव्यक्ति थियो।”
प्रचण्डले माओवादी आन्दोलनबाट महिला, दलित, आदिवासी, जनजाति समुदायलाई प्राप्त अधिकारहरू अब उल्टन नसक्ने दाबी गरे। तर पछिल्लो समय आन्दोलन र नेताहरूलाई हल्काफुल्का रुपमा व्याख्या गरी आलोचना गर्ने प्रवृत्तिले चिन्तित भएको बताएका छन्।
“दर्शन, सिद्धान्त र परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको छ,” उनले भने।
उनले वैचारिक र ऐतिहासिक योगदान नबुझी आलोचना गर्ने प्रवृत्ति मुलुकलाई गलत दिशामा लैजाने खतरा रहेको उल्लेख गरे। देशमा निराशा, असन्तुष्टि र वैदेशिक पलायनको प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद आवश्यक भएको बताए।
प्रचण्डले जनतालाई सही इतिहास बुझाउन गहन र विश्लेषणात्मक पुस्तकहरू सशक्त माध्यम बन्न सक्ने बताए। कार्यक्रमको समापनमा उनले यस्ता कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा योगदान दिने विश्वास पनि व्यक्त गरे।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार












प्रतिक्रिया