काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले युक्रेनमा फसेका नेपालीहरूको उद्धारमा सरकार पूर्ण रूपमा बेखबर रहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले रौतहटका जयप्रकाश साह एक वर्षदेखि युक्रेनमा अलपत्र परे पनि सरकारले चासो नदिएको बताए। “जयप्रकाश साह मात्र होइन, सयौँ नेपाली युक्रेनमा फसेका छन्। तर कसैले सुन्ने चाहना देखाएको छैन,” उनले गम्भीर व्यङ्ग्य गर्दै भने, “बरु देउता भेट्न सजिलो छ, परराष्ट्रमन्त्री भेट्न गाह्रो छ।”
साहका अनुसार पीडित परिवारहरू उद्धारको माग लिएर पटकपटक सरकारी निकाय धाइरहेका छन् तर समाधान हुने संकेत छैन। उनले परराष्ट्रमन्त्री डा. आरजु राणासँग कुरा गर्न खोज्दा समेत भेट नपाएको गुनासो गरे।
यस्तै, उनले देशभर बत्ती झ्यापझ्याप हुने समस्याबारे पनि टिप्पणी गर्दै बिनासूचना बत्ती काटिनु उपभोक्ताप्रति अन्याय भएको बताए। “बत्ती काट्नैपर्ने हो भने कम्तीमा पहिले नै सेड्युल बनाएर काट्नुस्,” उनले सरकारलाई आग्रह गरे, “यसले सरकारको लापरवाही र व्यवस्थापनको कमजोरी देखाउँछ।”
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया