काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेको प्रगति अवमूल्यन गर्दै अनावश्यक आलोचना गरिएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

बुधबार प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले रंगशाला निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै निर्माणमा देखिएको सामान्य ढिलाइलाई राजनीतिकरण गरिनु अनुचित भएको बताए।

advertisement

“रंगशाला त बन्दै छ, अन्तिम चरणमा पुगेको छ। तर त्यसको सट्टा दुई दिन किन ढिला भयो भनेर आलोचना मात्र गरिन्छ,” प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्दै भने, “केही दिन लाग्न सक्छ, त्यो स्वाभाविक हो।”

उनका अनुसार निर्माण सुरु गर्नमै विभिन्न प्रक्रियागत जटिलता, खरिद प्रक्रिया र भूमिको स्वामित्वसम्बन्धी विवादका कारण समय लम्बिएको हो। “मैले काम छिटो होस् भनेर ३०० दिनको समयसीमा तोकेको थिएँ,” उनले भने, “तर पुस महिनासम्म काम सुरु गर्नै सकिएन, प्रक्रिया नै लामो भयो।”

ओलीले निरन्तर झरी र अवरोधबीच पनि सरकार प्रतिबद्धतापूर्वक काममा लागेको उल्लेख गर्दै केही ढिलाइलाई बढाइचढाइ गरेर आलोचना गर्नु अनावश्यक भएको बताए।

“जस दिन नजान्ने, आलोचना मात्रै गर्ने हाम्रो प्रवृत्तिले सकारात्मक कामको मूल्यांकन हुन सकेको छैन,” उनले भने, “सरकार विकास निर्माणप्रति समर्पित छ, र यस्ता आयोजनाहरू सम्पूर्ण बाधा पार गर्दै अगाडि बढिरहेका छन्।”

प्रधानमन्त्रीको भनाइमा कीर्तिपुर रंगशाला निर्माण अब निर्णायक मोडमा पुगेको छ र निकट भविष्यमा खेलप्रेमीहरूलाई विश्वस्तरीय सुविधा उपलब्ध हुनेछ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com