काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको आगामी रणनीति ‘मिसन ०८४’ को नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने धारणा केन्द्रीय कमिटीमा प्रस्ट देखिएको बताएका छन्।
बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले अधिकांश केन्द्रीय सदस्यहरूले ओलीलाई नै नेतृत्वका लागि उपयुक्त व्यक्तित्व ठानेको बताए।
“मिशन ०८४ को नेतृत्वका लागि अध्यक्ष ओली नै सबैभन्दा उपयुक्त पात्र हुन् भन्ने धारणा धेरैजसो सदस्यले व्यक्त गरेका छन्,” पोखरेलले भने, “तर यो भनाइ विधानविपरीत भने होइन। विधानले सबैलाई प्रतिस्पर्धाको अधिकार दिएको छ र हामी त्यही परिप्रेक्ष्यमा छलफल गरिरहेका छौं।”
उनले एमालेले प्रतिस्पर्धाको अभ्यासलाई कहिल्यै निषेध नगरेको पनि स्पष्ट पारे। पोखरेलका अनुसार पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई कायम राख्दै, विधानअनुसार नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया